कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

काठमाडौँ, ६ फागुन- प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्, नयाँ पत्रिकामा खबर छ  थापाले अघिल्लो सरकारले गरेका निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा उल्ट्याइए त्यसले ‘क्याबिनेट सिस्टम’ को नै धज्जी उड्ने बताए । ‘हाम्रो सरकारले गरेका निर्णय संविधान र कानुनसम्मत छन् । नयाँ सरकारका लागि राजनीतिकसम्मत मात्र नभएका हुन्,’ उनले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर चुनाव भइसकेपछि किन निर्णय गरेको भनेर उल्ट्याउन त सक्नुहुन्छ तर, यसले ‘क्याबिनेट सिस्टम’मा नकारात्मक असर पार्छ । एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएर उल्ट्याउने संस्कृतिको विकास हुन्छ ।’ प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्वाचनपछिका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए कांग्रेस सत्तामा आएपछि वर्तमान सरकारले गरेका निर्णयमा पनि पुनर्विचार गर्न बाध्य हुने रणनीति तय गर्ने भित्री योजनामा कांग्रेस छ । ‘कांग्रेस अब कहिल्यै सत्तामा नआउने पार्टी होइन, एकपटक निर्वाचनबाट केही खुम्चियो भन्दैमा सधैँ सत्ताबाहिर पक्कै रहँदैन,’ थापाले भने, ‘संविधान ऐन र कानुनअनुरूपका निर्णयको जस–अपजस कांग्रेसले लिन्छ । सत्तामा नरहे पनि संसद्मा त हुन्छ, जनतामाझमा हाम्रो उपस्थिति बलियै छ ।’सरकारलाई सहयोग गर्ने कि विरोध गर्ने भन्ने विषय उसको क्रियाकलापमा भर पर्ने कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यदि अहिलेको सरकार मनपरी ढंगले अघि बढे ‘टिट फर ट्रयाट’को रणनीतिमा कांग्रेस अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?