स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

काठमाडौँ, ६ फागुन- गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए । हातै नचल्ने अवस्था भएपछि कार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए । १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?