काठमाडौं । नलगाड नगरपालिका–८ मालुवाका लोकेन्द्र सिंह १४ दिन सदरमुकामको क्वारेन्टाइनमा दिन बिताएर बिहीबार घर गए । उनीसँगै एकै कोठामा बसेका सात जनासमेत एकसाथ कोरोना भाइरस जाँच गरेर नेगेटिभ भएपछि घर गए ।
सदरमुकाम आएर क्वारेन्टाइन बसुञ्जेलसम्म आफूलाई कोरोना लागेको छ कि भनेर त्रासमा रहेका लोेकेन्द्र १४ दिनपछि नेगेटिभ रिपोर्ट आएपछि खुसी हुँदै घर गएको बताए । उनले भने, “बाटोमा १५ दिन हिँडेर सदरमुकाम आइ दुई हप्ताको बसाइ जति पीडामय भए पनि कोरोना जाँच नेगेटिभ आएपछि घर जान पाउनेभएपछि खुशी लागेको छ ।”
“यहाँ हामीलाई अब घर जाने वातारण मात्र तयार भएको छैन, कोरोना छैन भनेर प्रमाणपत्रसमेत हातमा प्राप्त हुँदा गाउँमा गएर सचेतनाका काममा लाग्न बल पुगेको छ”, लोकेन्द्रले भने । उनीसँगै भेरी ज्ञानोदय क्याम्पसबाट २०० भन्दा बढी क्वारेन्टाइनमा बसेका सर्वसाधारण निरोगी प्रमाणपत्र लिएर घर जाँदा खुशीको सीमासमेत थिएन । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालको समन्वयमा यातायातको व्यवस्थासहित घर पठाएको छ ।
नयाँ आएर क्वारेन्टाइनमा बस्नेसमेत आफ्नो जिल्लामा पाइला टेक्न पाइयो भन्दै खुशी व्यक्त गरेका छन् । जिल्लाभर दुई हजारको सङ्ख्यमा क्वारेन्टाइनमा बसेका व्यक्ति अहिले आफूलाई कसरी मनोबल बढाउने र सिर्जनशील बन्ने भन्नेमा चासो देखाइरहेको क्वारेन्टाइनमा व्यवस्थापन कार्यमा खटिएका स्वास्थ्यकर्मी रामेश्वर रानाले बताए । उनले भने, “क्वारेन्टाइन मा बसेका सबैको एकै चाहना भनेको निरोगी भएर गाउँमा गई अरुलाई समेत कोरोनाबाट बच्न सचेतना जगाउने भन्ने छ । धेरै दुःख पाएर आएका दाजुभाइ दिदीबहिनी हुनुहुन्छ ।”
स्थानीय सरकारका प्रमुखहरु दैनिक क्वारेन्टाइनमा आएर अभिभावकका रूपमा भूमिका खेल्दा थप क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई हौसला बढ्ने गरेको छ । दैनिक एकपटक क्वारेन्टाइन आई समस्या के छ, तपाईँहरुका समस्या मेरो समस्या हो भन्दै चिन्ता व्यक्त गर्दा आफूहरु निकै खुशी भएको जुनिचाँदे गाउँपालिका–१ का कालीबहादुर थापाले बताए । “हाम्रो गाउँपालिका टाढा भए पनि भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आएर हामीलाई हौसला मात्र दिनुभएन, आफ्ना समस्यासमेत जानकारी गराउनुभयो”, थापाले भने । जिल्लाका अन्य ठाउँमा क्वारेन्टाइनमा व्यवस्थापन राम्रो भएन भनी गुनासो आइरहेको समयमा जाजरकोटमा भने सर्वसाधारण क्वारेन्टाइन बसाइ सुखद् भएको बताएका छन् ।
आफैँमा अन्तर्राष्ट्रियस्तरको खेलाडीसमेत रहेका भेरी नगरपालिकाका नगरप्रमुख घर्ती बिहान क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई खेलका बारेमा समेत जानकारी गराएको उनीहरुको भनाइ छ ।
पारिवारिक वातावरणमा क्वारेन्टाइन बसेर बिदा हुँदै गर्दा व्यक्त भएका भावनाले भर्खरै बस्न आएकाको अन्योलतासमेत कम भएको छ । चौध दिन क्वारेन्टाइनबसेर दिन बिताएको पत्तै नभएको भन्दै अझै बस्न परे पनि तयारै रहेको अधिकांश सर्वसाधारणको भनाइ छ । राम्रो व्यवस्थापन र क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकमर्मीको हौसला दिने व्यवहारका कारण क्वारेन्टाइन बसेका सर्वसाधारण गदगद् भएको बताएका छन् ।
क्वारेन्टिनमा बसेका सबैको फोन नम्बर सङ्कलन गरी स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिले क्वारेन्टिनस्थलमा आउन नपाएको समयमा फोन गरेर सञ्चो, बिसञ्चो बुझ्ने गरेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । “हामीले जनतालाई क्वारेन्टाइनमा राखेका छौँ । उनीहरुको गुनासा हामीले नसुने, नबुझे कसले बुझ्ने रु”, नगरप्रमुख महतराले भने । लकडाउनका कारण आधा महिना हिँडेर सदरमुकाम आई क्वारेन्टाइन बसेका सर्वसाधारणलाई स्थानीय सरकारले लिएको पहलकदमी स्वागतयोग्य भएको समेत सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।
बाहिरबाट आउन बित्तिकै कोरोना सङ्क्रमित नै भएको भन्दै हेला र हेपाह प्रवृत्ति केही व्यक्तिले व्यक्त गर्दा दुःख लागेको बताउने सर्वसाधारण १४ दिन बिताएर घर फर्कँदा हृदय फुलेको बताएका छन् । उनीहरु भन्छन्, “अब हाम्रो काम गाउँमा जनचेतना फैलाउनु हो ।”
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया