सुडान घोटाला काण्ड : सजाय भुक्तान गरी पूर्व आइजी ठकुरी रिहा

काठमाडौं । सुडान घोटाला काण्डमा भ्रष्टाचारी ठहर भई कैद सजाय भोग्दै आएका नेपाल प्रहरीका पूर्व आइजिपी रमेशचन्द ठकुरी रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा भ्रष्टाचारी ठहर गरेको थियो ।

अदालतले तोकेको सजाय भुक्तान गरीसकेकाले बिहीबार उनी रिहा भएको डिल्लीबजार कारागारले जनाएको छ ।

नेपाल प्रहरीको संयुक्त राष्ट्र संघीय मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान एपिसी खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको सहितको इजलासले उनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए। सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक-एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

२०७६ असार १९ गते धरौटीमा कारागार बाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै पूर्व आइजी ठकुरीले दायर गरेको निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति दिन अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?