वाम गठबन्धनलाई मोहनविक्रमले दिए यस्तो शुभकामना

काठमाडौं, ५ फागुन । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि शुभकामना व्यक्त गरेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई दिनपछि शनिबार विज्ञप्ति जारी गर्दै वामगठबन्धन विचमै नतोड्न सुझाव समेत दिएका छन् ‘वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका छन्ः प्रथम, ओलीको नेतृत्वमा एमालेले सीमित रुपमा भएपनि राष्ट्रियताका पक्षमा, भारतीय विस्तारवादका विरुद्ध र चीनसितको सम्बन्ध विस्तारमा लिएको अडान । द्वितीय, ने.का.सितको सम्बन्ध तोडेर प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले एमालेसित मिलेर बनाएको वामठबन्धन । हामीले आशा गर्दछांै, ती दुवैमा निरन्तरता रहोस् । त्यसको अर्थ हो, ओलीले पहिले लिएको अडानमा कुनै विचलन नआओस् र उनले बनाएको गठबन्धनलाई बीचैमा तोड्ने काम नगरियोस् ।’सिंहको विज्ञप्तीमा छ, ‘उनीहरुका बिचमा पार्टी एकता होस् त्यसका लागि हाम्रो शुभकामना छ । तर त्यो सम्भव हुने छ वा छैन ? त्यो कार्य छिटो हुने छ वा ढिलो ? त्यो भन्दा हाम्रो चिन्ताको विषय यो छ, उनीहरुका बिचमा पार्टी एकता नभएपनि वा त्यो केही ढिला भएपनि वामपक्षीय गठबन्धनको सरकार गठन गर्ने कार्यमा कुनै ढिलाई हुनु हुँदैन वा त्यसमा कुनै बाधा पुग्न हुँदैन । त्यसो भएमा जनताले उनीहरुमाथि गरेको विश्वाससित धोखा हुनेछ र त्यसबाट प्रतिक्रियावादीहरुलाई नै मद्दत पुग्ने छ । यस्तो भएमा त्यो सम्पूर्ण देश र जनताका साथै स्वयं उनीहरु दुवै पक्षहरुका हितमा पनि नहुने कुरा प्रष्ट छ ।’उनले एमाले वा माओवादीहरुसित कार्यगत एकता हुने वा उनीहरुको नेतृत्वमा बनेको सरकारका कैयौं नीतिलाई समर्थन गर्दै आएको उल्लेख गर्दै फेरि यसप्रकारको सहकार्य गर्न सक्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?