पूर्व मन्त्री निषादको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक वक्तव्य जारी गरी निषाद सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा आफूले पाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा दिवङ्गत निषादप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनबाट शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन् ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित निषादको उपचारकै क्रममा आज दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षका उमेरमा निधन भएको हो । यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट उनले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । पछिल्लो समय उनले नेतृत्व गरेको मधेश समता पार्टी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?