नेपालमा कोरोना : संक्रमित र मृतक थपिएको थपियै, आजै थप एकको मृत्यु (विवरणसहित)

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यस्तै कोरोना संक्रमणको पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । जसमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन भने आइसेलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित, हिजो एकैपटक २१३ जनामा पुष्टि 

नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा हिजो (आईतवार) एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा थप २१ जनाले जिते कोरोना 

नेपालमा थप २१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ४ सय ८८ पुगेको छ । आज संक्रमण निको हुनेमा बाँकेका २० जना रहेका छन् । उनीहरु नरैनापुराका १३ देखि ५२ वर्षिया पुरुष रहेका छन् ।

उनीहरु कोरोना संक्रमण देखिएको १५ देखि २० औं दिनमा कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।  त्यस्तै, काठमाडौंको बल्म्बु अस्पतालबाट १ जना २३ वर्षिया महिला डिस्चार्ज भएकी प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमण जितेर घर फर्कने कुल ४ सय ८८ जना मध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

 

कोरोनाबाट मृत्यु भएका अर्घाखाँचीका पुरुषसँग आएका अन्य ३० जनामा संक्रमण पुष्टि

कोरोनाको कारण मृत्यु भएका अर्घाखाँचीका युवकको सम्पर्कमा आएका अन्य ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो।

उनीसँगै गाडीमा आएकाहरू ५१ जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको थियो । त्योमध्ये ३० जनामा संक्रमण देखिएको स्रोतले जनाएको छ ।

भारतबाट फर्किएपछि सम्पर्कमा आएका अन्य व्यक्तिहरु क्वारेन्टाइनमा रहेका थिए ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुई जना महिला र बाँकी पुरूष छन्। उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक एक जना छन्।

उनको अन्त्यष्टीपछि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनका अन्य परिवारका सदस्य तथा आफन्तमा भने कोरोना नदेखिएको स्रोतले जनाएको छ ।

भारतबाट आएका धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि

सोमवार धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आइ क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लोकपथलाई बताए

मल्लका अनुसार उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा परीक्षण गरिएको हो ।

जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेन्टाइनमा रहेका थिए ।

क्वारेन्टाइनमा रहेका उनीहरुको जेठ २४ गते पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?