किन खोसियो जसपामा बाबुरामको शीर्ष पद ?

काठमाडौं । जनता समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्णय भइसकेको संघीय परिषद् अध्यक्ष पद एकाएक खोसिएको छ । उनले एकीकृत पार्टीमा चौथो बरियतामा चित्त बुझाएका छन् ।

उनको चौथो वरियताका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला सहयोगी विश्वदीप पाण्डेले सबै निर्णय सहमतिमै भएको बताएका छन् ।

उनले पार्टी दर्ता निर्वाचन आयोगमा आजै दर्ता गराउनु पर्ने दवावका कारण अहिले वरिष्ठ नेतामा चित्त बुझाएको र पछि उपयुक्त जिम्मेवारी हुने बताएका छन् । उनले बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्दै यसरी निर्णय गराएको उनको भनाइ छ ।

पाण्डेको दावी जस्ताको तस्तैः

“बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ । धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १र१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।

कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्ने हो । हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । नेतृत्वलगायतका अन्य वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ ।

समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्ष अगाडिदेखिको पहल हो । अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो । छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं । वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?