काठमाडौं । आइतवारसम्म ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । अहिले सम्म निको भई घर फर्किनेहरुमा प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १ सय ८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।
अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ ।
यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, बागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३, प्रदेश ५ मा ३९ हजार ८ सय ९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहको छन् ।
प्रवक्त देवकोटाका अनुसार देशभर २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ९ सय ७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, प्रदेश ५ मा ९ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय २१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
‘अधिकांश कोरोना संक्रमितमा कोभिड–१९ को लक्षण छैन’
कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको छैन् ।
इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको बताए । संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन् । उनले कोभिड–१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ ।
लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर सङ्क्रमण हुनसक्ने बताए । “कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ”, उनले भने, “भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ ।”
सङ्क्रमितमध्ये पाँच प्रतिशत बिरामी भने सङ्क्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु–शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताए । उनले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताए ।
“शुरु–शुरु बाहिर मुलुकबाट लक्षण लिएर आएका सङ्क्रमितमा लक्षण देखिएको थियो”, अस्पतालका निर्देशक डा राजभण्डारीले भने, “तर पछि भारतबाट आएका सङ्क्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन ।” उनले लक्षण नदेखिएपछि दीर्घरोगी सङ्क्रमितलाई बढी पावरको औषधि प्रयोग गर्नुपरेको बताए ।
सङ्क्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ । त्यतिबेला परीक्षण गराएका व्यक्तिमा सङ्क्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ । भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । इपिडीमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्वारेन्टाइनमा राख्न, सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताए । उनले अहिले स्थानीय तहले बनाएका क्वारेन्टाइनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया