कांग्रेस नेतृ अमात्यद्वारा शारीरिक अशक्तता भएकाहरुलाई खाद्यान्न वितरण

बिदुर । नेपाली कांग्रेस नुवाकोटकी नेतृ एवं गत स्थानीय निर्वाचनमा बिदुर नगरपालिकामा उपप्रमुख पदकी प्रत्यासी गीता अमात्यले नगरपालिकाभित्रका शारीरिक अशक्तता भएका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेकी छिन् ।

अमात्यले अपाङ्ग मानव अधिकार मञ्चसंगको समन्वयमा लकडाउनका कारण अति समस्यामा परेका बिदुर नगरपालिकाका १३ वटै वडाका ६५ जना अपाङ्गता भएकाहरुलाई खाद्यान्न सहयोग गरेकी हुन् ।

यसैक्रममा शनिवार बिदुर नगरपालिका वडा नम्वर ८ का ६ जना र वडा नम्वर नौ का ६ जनालाई स्थानीयस्तरमै पुगेर कांग्रेस नेतृ अमात्यले खाद्यान्न सहयोग उपलब्ध गराईन् । वडा नम्वर १३ का वडा अध्यक्ष दलबहादुर तमाङ र वडा नम्वर ८ की वडा सदस्य देबकुमारी बिकको रोहवरमा अमात्यले प्रति ब्यक्ति एक बोरा चामल, एक किलोग्राम दाल, एक लिटर तेल,एक प्याकेट नुुन, २ प्याकेट साबुन, एक किलोग्राम दालमोठ, एक किलोग्राम च्यूरा, एक किलोग्राम भुजिया, एक किलोग्राम चिनी, एक प्याकेट चियापत्ति र ५ थान मास्कसहितको सहयोग उपलब्ध गराईन् ।

त्यसक्रममा अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका सचिव लोचन भट्टराईले लकडाउनका कारण शारीरिक अशक्तता भएकाहरु अत्यन्त समस्यामा रहेका बेला अमात्यको सहयोग उनीहरुको जीवनयापन सहज बनाउन महत्वपूर्ण सावित भएको बताए । भट्टराईले बिदुर नगरपालिका भित्रका अति समस्यामा रहेका शारीरिक अशक्तता भएका ब्यक्तिहरुलाई घरमै पुगेर राहत उपलब्ध गराईने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?