प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं । प्रदेश नं २ का सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म प्रदेश २ मा १ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का विभिन्न जिल्लाका गरी शनिवार थप ८३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

आज प्रदेश नं २ को सबैभन्दा बढी महोत्तरी जिल्लामा देखिएको छ । शनिवार मात्र महोत्तरीमा ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषामा ८ जनामा एकजना प्रहरीमा समेत संक्रमण रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा स्थित क्वारेन्टाइनमा खटिएका एक जना प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमित प्रहरी क्वारेन्टिन अनुगमन गर्ने गरेको थियो ।

त्यस्तै सो क्वारेन्टाइनमा खटिएका २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । एक साता भित्रमा क्वारेन्टाइनमा खटिएका दवै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै महोत्तरी जिल्लामा जलेश्वर स्थित क्वारेन्टाइनका १७ जना पुरुष, मटिहानी क्वारेन्टाइनका ७ जना पुरुष, एकडारा क्वारेन्टाइनका ६ जना पुरुष, गौशाला नगरपालिका स्थित क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाइनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरु मध्ये गौशला क्वारेन्टाइनका २२ वर्षीया १ जना महिला संक्रमण पुष्टि भएको छ भने अन्य क्वारेन्टाइनमा ११ देखि ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषहरु संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको परीक्षणका क्रममा सर्लाही जिल्लाका रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको जनाइएको छ । त्यस्तै रौतहटको ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाइ्नमा ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश नम्बर २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारपछि निको भई घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा आज मात्र थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

हालसम्म ३ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?