तरकारी तथा फलफुल ढुवानीमा अवरोध गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । लकडाउनको अवस्थामा तरकारी तथा फलफुल ढुवानीमा अवरोध गरी नष्ट गर्ने व्यक्तिहरुलाई कारबाही गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देदिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बिहीबारको बैठकले कोभिड-१९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिई अनधिकृत रुपमा तरकारी तथा फलफुल नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो ।

बैठकको निर्णय सुनाउँदै समितिका सभापति पूर्णकुमारी सुवेदीले किसानका तरकारी निर्वाध ओसारपसार गर्ने व्यवस्था मिलाउन र तरकारी तथा फलफुल नष्ट गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

पछिल्लो समय तरकारी तथा फलफुल ओसारपसारमा रोक लगाई नष्ट गरेका घटना बाहिरिएपछि समितिले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै समितिले कोभिड–१९ का कारण समस्यामा परेका किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन कृषि तथा पशुपंिक्ष विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

कोभिड–१९का कारण समस्यामा परेका वास्तविक कृषकलाई उत्पादनका आधारमा बीउ, मल र प्रविधिमा अनुदान दिन निर्देशन दिएको छ । राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिमाणमा एक स्थानमा एउटा बालीको खेती गरी कृषि वस्तुको उत्पादन वृद्धि गरी कृषिलाई आयमुलक, आधुनिक र मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्न निर्देशन दिएको छ ।

कखुरा पालक कृषकहरुलाई गुणस्तरीय दाना उपलब्ध गराउने विषयमा दानाको गुणस्तरमा नियमित चेकजाँच गरी गुणस्तर कम भएको दाना विक्री गर्नेलाई कारबाही गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न आवश्यक कार्य गर्न निर्देशन दिएको छ । यस्तै नेपाललाई आवश्यक पर्ने खाद्यन्नको संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?