यार्चा लाँदै, सुन ल्याउँदै

काठमाडौँ, ५ असोज- ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी पक्राउ परेका छन् । काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरिएको हो ।रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा पक्राउ परेका थिए । २०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए । उनी त्यतिबेला ११ लाख रुपैयाँ बोकेर अवैध सुन किन्न पुगेका थिए । कार्यविनायक सुनचाँदी पसलका बडु भने यार्चागुम्बु व्यापारीका रूपमा चिनिन्छन् । दार्चुलाका बडु लामो समयदेखि यार्चालगायत बहुमूल्य जडीबुटी तिब्बत र चिनियाँ बजारमा थोकमा बेच्ने काममा संलग्न छन् । स्रोतका अनुसार बडुले नेपालबाट यार्चा पठाउने र त्यसबापतको पैसा भने सुनका रूपमा बुझ्ने गरेको देखिन्छ । पक्राउ परेका अन्य तीन भने बिस्कुट आकारमा आएको सुनलाई गालेर स–साना बनाउने काममा संलग्न हुन् ।प्रहरीका अनुसार सुनका असली मालिक भनिएका चिनियाँ नागरिकसँग अग्रवाल र बडुको निरन्तर सम्पर्क थियो । यी दुवैले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन चिनियाँ नागरिकबाट किन्ने र ओटुको सिद्धनाथ सुनचाँदी र पशुपति सुनचाँदीमा लगेर खारेको देखिन्छ । यी दुवैले गालेको सुनलाई बजार मूल्यभन्दा कममा अन्य सुनचाँदी पसलेलाई पनि बेचेको देखिन्छ । नियमित रूपमा अवैध बजारको सुन किन्ने अन्य केहीमाथि पनि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाएको छ, कान्तिपुरमा खबर छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?