मधेसीको राष्ट्रियताको भावना छैन भन्ने एन्फा अध्यक्षले माफी मागे

काठमाडौं । ‘तराई मधेसमा राष्ट्रियताको भावना कम छ’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा मुछिएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले माफी मागेका छन् ।
एक भिडियो अन्तर्वार्तामा शेर्पाले यस्तो अभिव्यक्ति दिएका थिए ।

‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि । यद्यपी, अन्तर्वार्ताका क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजु–भाई तथा दिदीबहिनी एवंम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति म हार्दिक क्षमायाचना गर्दछु,  शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शेर्पाले तराईका जिल्लामा फुटबल गतिविधि बढाउन र प्रतिभाशाली खेलाडी जन्माउनका लागि आफुले नयाँ योजना सारेको पनि विज्ञप्तिमार्फत जनाएका छन् । खेलभावनाबाहेक अन्य कुनै मनासाय राखेर वा कुनै क्षेत्र, प्रदेश वा भूगोललाई होच्याउन वा नकारात्मक सन्देश प्रवाह गर्न नखोजेको उनको दाबी छ ।

एक भिडियो अन्तर्वार्तामा शेर्पाले तराई–मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन जरुरी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?