श्रीमद्भगवत्गीतामा (आत्मतत्व) आत्माको महत्व के ?

काठमाडौं । आत्मा अपरिमित छ , सर्वत्र व्याप्त छ ,सर्वोच्च छ र अशिम आनन्दले भरिपूर्ण छ । आत्मा अन्तर्हृदय को दिव्यज्योति हो र परव्रह्मकै स्वरुप पनि हो ।

भगवद्गीतामा आत्मा शब्दको कहीँ जीवात्मा,कहीँ परमात्मा,कहीँ अन्तःकरण,कहीँ मन, कहीँ चित्त,कहीँ ईन्द्रिय र कहीँ स्वयम् आफैँलाई बुझाउने शब्दको प्रयोग भएको छ ।

भगवद्गीताको दोस्रो अध्यायको ११ देखी ३० श्लोकसम्म आत्मालाई जीवात्माको रुपमा व्याख्या गरिएको छ । श्रीकृष्ण भन्नुहुन्छ–आत्मा दिव्यज्योतिस्वरुप छ र यो मानिसको अन्तरात्मामा विराजमान छ । आत्मा अजर ,अमर र अनश्वर छ ।

यसलाई मृत्युले पनि छुन सक्दैन । न यो जन्मन्छ ,न यो मर्छ । त्यसैले आत्मा सदा अजन्म छ ,नित्य छ ,सनातन छ र पुरातन पनि छ । “अजो नित्यःशाश्वतोऽयं पुराणः” २र२० । शरीर नाश हुँदा पनि आत्मा नाशिदैन,बरु थोत्रिएका पुराना वस्तु त्यागे झै जीण शरीर त्यागेर नयाँ शरीरमा यो आत्मा प्रवेश गर्दछ ।

प्राणीहरुको अन्तर्हृदयमा विराजमान परमात्मा स्वरुप जीवात्मा सूक्ष्म अणुभन्दा पनि अतिसूक्ष्म छ र महान् भन्दापनि अझ महान् सर्वव्यापक छ । आत्मालाई धेरै अध्ययनले पनि पाउन नसकिने बताईएको छ ।

आत्मालाई न प्रवचनले पाउन सकिन्छ , न त बुद्धि विवेक लगाएर पाउन सकिन्छ, न त आत्मविषएक धेरै कुरा सुनेर नै पाउन सकिन्छ ,अरु आत्माले जसलाई स्वीकार गर्दछ , उसैको आत्मा यथार्थस्वरुपको साक्षात्कार गर्न पाउछ ।

आत्माको स्वरुप मायारुपी पर्दाबाट ढाकिएर रहने गर्दछ ,त्यसैले प्रत्यक्षरुपमा अनुभूति गर्न सकिँदैन ।

परव्रह्म परमात्माको स्वरुप अनादि,अनन्त एवम् अविनाशी छ र जीवात्मा भन्दा सर्वोच्च र उत्कृष्ट पनि छ । भगवद्गीता १५र७ मा भनिएकोछ–“ममैवाशो जीवलोके जीवभूत सनातनः” जीवात्मा परब्रह्म परमात्माकै शाश्वत् एवम् सनातन अंश हो ।

यसै प्रशङमा शङ्कराचार्यजी भन्नुहुन्छ–जसरी तलाउ वा अन्तत्र पानीमा देखिने सूर्यको अंश पानी नाश भएपछि सूर्यमै मिल्दछ , पानीको घडामा देखिने आकाशको अंश घडा नाश भएपछि आकाशमै विलय हुन्छ , त्यसरी नै जीवात्मरुप परमात्माको अंश पनि जीवात्मा मुक्त भए पछि परमात्मानै विलिन हुन्छ र उसले फेरी फर्केर पुनर्जन्म र पुनर्मरणको चक्करमा पर्नुपर्दैन । यसरी नै गीताको दोस्रो अध्यायमा भनिएको छ ।

आत्मा अमर छ , यसलाई न शास्त्रले काट्न सक्छ ,न आगोले पोल्छ ,न पानीले भिजाउँछ , न त हावालै नै सुकाउँछ ,त्यसैले आत्मा अच्छेद्य,अदाह्य,अवलेद्य र अशोष्य पनि छ । आत्मामा कुनै विकार पैदा हुँदैन,यो अव्यक्त,अचिन्त्य पनि छ र नित्य एवम् सर्वव्यापी छ ।

भगवत्गीताको तेह्रौँ अध्यायको २२ औ र ३१ औँ श्लोकमा उल्लेख भएअनुसार मानिसको पञ्चभौतिक शरीरमा आत्मरुपले अवस्थित परम्पुरुष परमात्मालाई नै शाक्षीरुपमा देखिने हुँदा उपद्रष्टा,अनुमति दिने हुँदा अनुमन्ता,अरुको भरणपोषण गर्ने हुँदा भर्ता,सुख दुःखादिको भोग गर्ने हुँदा भोक्ता,सबैको महान ईश्वर हुनाले महेश्वर र सर्वोच्च परम् आत्मा भएकोले परमात्मा भनिएको छ ।

परब्रह्म परमात्माको स्वरुप अनादि,निर्गुण,निराकार,एवम् अनश्वर छ र शरीरमा जीवात्मरुपले रहेर पनि न केही गर्छ , न त शुभाशुभ कर्मप्रति लिप्त नै रहन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?