तत्काल कर तिर्न सरकारले दिएको निर्देशनप्रति चेम्बर अफ कमर्स असन्तुष्ट

काठमाडौं । सरकारले ५ दिनभित्र कर बुझाउन दिएको निर्देशनप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टी जनाएको छ । मंगलवार नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको कर विवरण एवम् रकम वुझाउने सम्बन्धमा प्रकाशित सूचनाप्रति आपत्ती जनाउँदै चेम्वर अफ कमर्सले विज्ञप्ती जारी गरेको छ ।

लकडाउनका कारण व्यवसायीहरुले कर्मचारी एवम् मजदुरको तलव तिर्न समेत अफ्ठयारो परेको अवस्था रहेको बताइएको छ । “कोभिड ( १९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ ।” विज्ञप्तीमा भनिएको छ ।

साथै यस्तो अवस्थामा कठिन अवस्थामा व्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको चम्बर अफ कमर्सले बताएको छ ।

कोरोनाको सुरक्षार्थ गरिएको लकडाउनका कारण व्यवसायमा असर परेकाले व्यवासायिक वातावरण बनाउन र सरकारले जारी गरेको सूचना खारेज गरी अर्काे सूचना जारी गर्नको लागि समेत चेम्बर अफ कमर्सले सरकारसँग आग्रह गरेको छ ।

चेम्बर अफ कमर्सले भनेको छ, “यस्तो स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लकडाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध गर्दछ । यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ साथै बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नर्या सूचना जारी गर्न समेत अनुरोध गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?