२०७७, २० जेष्ठ मंगलवार १५:१३

लकडाउनको ७१ औँ दिन : खुकुलो भएपनि अपनाउनैपर्छ यी सावधानी (डाक्टरका सुझावसहित)


प्रकाशित मिति : २०७७, २० जेष्ठ मंगलवार १५:१३

काठमाडौं – जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमण हुनुपूर्व नै विभिन्न सूचना, जानकारी, स्वास्थ्यसम्बन्धि टिप्स, समाचार र उत्प्रेरणा दिने किसीमका सन्देश सामाजिक सञ्जालमार्फत् दिइरहेका छन् ।

यो महामारी नेपालका ५९ जिल्लामा फैलिसकेको अवस्थामा उनी कहिले बालबालिकाको स्कुलका विषयमा चासो राख्छन् त कहिले नेपालमा लकडाउनको मोडालिटी ।

यस महामारीबाट बच्न सरकारले गत वर्षको अन्तिम महिना चैत्र ११ गतेबाट लकडाउन बन्दाबन्दी गर्‍यो। यसैको कारण पनि नागरिक घरभित्रै थुनिएका छन् ।

यसैबीच अहिले नागरिकले भनिरहेका छन् बरु सावधानी अपनाएर काममा फर्कन चाहन्छौँ । लकडाउन नै अन्तिम अस्त्र होईन । हुन पनि हो । यदि सरकारले यो ७१ औँ दिनसम्म कुनै ठोस कदम चालेको भए आज एउटा निष्कर्ष वा समाधानको बाटो पहिल्याउन सकिन्थ्यो । तर राजनीतिक खिचातानीमा अल्झेको सरकारले परीक्षणको दायरा केही बढाएको छ । जुन पर्याप्त छैन । खुल्ला मीमाबाट आएका जतिपनि नागरिक छन् तिनको व्यवस्थापमा सरकारल दिनदिनै चुकेको छ । पर्याप्त क्वारेन्टाईन छैनन् । भएकापनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार छैनन् ।

तर केही दिन अघि आगामी जेठ ३२ सम्मको लागि थपिएको लकडाउन केहि खुकुलो भए झैँ देखिन्छ । यसअर्थमा अबका दिनमा घरबाहिर निस्कँदा यो महामारीबाट बच्न के गर्ने ? यसै सन्र्दभलाई लिएर डाक्टर रविन्द्र पाण्डेले लकडाउन खुलेपछि अपनाउनुपर्ने उपायका विषयमा लेख्नुभएका केहि टिप्स यहाँ प्रस्तुत गरिएको छ ।

१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता

२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता

३.  काम गर्ने ठाउँमा :  साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली

४. व्यक्तिगत अभ्यास :  खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने, आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने र खोक्ने, त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने, कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने, मास्क तथा अनुहारमा हात नलग्ने, सेवाग्राहीसंग दुरी कायम गर्ने, सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी र स्यानिटाइजरको ब्यबस्था गर्ने

५.  भिडभाड :  आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने

६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने, घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने,  किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने

७. अस्पताल :  सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने ्र व्यक्तिगत दुरी कायम गर्ने, मास्क र चस्मा लगाउने

८.  सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने,  लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने, सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने र त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने

९. औषधि तथा खाधान्न :  न्युनतम १ महिनाको स्टक राख्ने  प्राथमिक उपचारका साधन र औषधि अलिअलि भएपनि घरमा राख्ने

१०.  मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश र स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १- २ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३. ५ मात्र छ, लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने

११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने र नसुन्ने,  असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने, जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने

१२. मितव्ययी  : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने, अनाबश्यक खर्च नगर्ने, बाहिर खाना र खाजा नखाने, सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने, बच्चालाई गाउँको स्कुलमा पढाउने

१३.  घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने, अनि अरु परिवारसंग भेट्ने

१४.  घरभित्रको दुरी :  जेष्ठ नागरिक र बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने

१५. अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने

१६. आत्मबल : आत्मबल उच्च राख्ने,  आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने,  मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने,  उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ

१७. व्यायाम  : सकभर घरभित्र व्यायाम गर्ने,  भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ

१८. खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने, गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने, चुरोट, खैनी, रक्सी सेवन नगर्ने

१९. आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने

२०.  ब्यबसाय परिवर्तन : अबको २/३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर र होम डेलिभरीको पेशा निकै चल्नेछ, तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने आदि

‘आज PCR नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ’

डाक्टर पाण्डे भन्छन् : 
– राज्यले आफ्ना नागरिकलाई बिचल्लीमा पार्नु हुँदैन | भारत, अरब वा अन्य देशबाट नेपाल फर्किने बाध्यता भएका नागरिकलाई उद्दार गर्नुपर्छ | उहाँहरुको ठाउँमा आफुलाई राखेर निर्णय गर्नुपर्दछ | यो महामारीको बेला हामी संगै बाँच्ने, संगै मर्ने उदार मानसिकता चाहिन्छ |

– भारतबाट ठूलो संख्यामा नेपाली आइरहेका छन् | उनीहरुलाई सबैलाई परिक्षण गर्ने क्षमता सरकार संग नहुन सक्छ | त्यस्तै उडान सुरु भएपछि अरब लगायतका देशबाट लाखौँ नेपाली आउने सम्भावना छ | सरकारको परिक्षण क्षमता कम भएमा लक्षण देखिएकालाई मात्र परिक्षण गर्ने अवस्था आउन सक्छ | यी दुवै अवस्थामा सेना र प्रहरी अस्पतालले पनि आफ्नो जनशक्ति र औषधि उपकरण प्रयोग गर्नुपर्दछ |


– सरकारले क्वारेन्टाइनको खर्च धान्न नसक्ने अवस्था आउन सक्छ | त्यसको लागि उनीहरुको क्षमता अनुरुपका होटेल, रिसोर्ट, गेस्ट हाउस, सामाजिक भवन आदिमा राख्नको लागि सरकारले पूर्व तयारी गर्नुपर्छ, न्युनतम शुल्कको ब्यबस्था गर्नुपर्छ | यसले एकातर्फ क्वारेन्टाइनमा बस्नेलाई बिजुली, पानी, इन्टरनेट, सौचालय, सामाजिक दुरी आदिको एकै ठाउमा ब्यबस्था हुन्छ भने अर्कोतर्फ बन्द भएका होटेललाई संचालन खर्च उठ्न सक्छ |


– कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जनतालाई ब्यापक सुचित गरेर होम क्वारेन्टाइनलाई प्रश्रय दिनुपर्ने हुन्छ | यसको अनुगमन स्थानीय निकाय र सुरक्षाकर्मीले गर्नुपर्ने हुन्छ |


– कोरोना संक्रमण धेरै नागरिकमा फैलियो भने अस्पतालमा राख्नको लागि वेडको अभाव हुन्छ | कोरोना पोजिटिभ देखिंदैमा अस्पतालमा राख्नै पर्छ भन्ने छैन | नियमपूर्वक आइसोलेसनमा बस्ने बाताबरण भएमा आफ्नो घर नै सबैभन्दा उपयुक्त हुन्छ |

संक्रमितको मनोबल बढ्ने, परिवारको माया पाउने, खाना समयमा र आफुले चाहेजस्तो हुने तथा घरमै हुँदा मानसिक रुपमा बिरामी भएको अनुभव नहुने हुँदा घरमा आइसोलेसनमा बस्ने तथा गाह्रो भएमा मात्र अस्पताल जानुपर्ने प्रबन्ध मिलाउनु आबश्यक हुनेछ |


– घरमा स्पेस थोरै भएमा नजिकको होटेल, गेस्ट हाउस वा रिसोर्टमा राख्न सकिन्छ |


– कोरोना संक्रमण भएका मध्ये ८५ % लाई सामान्य लक्षण देखिएर आफै निको हुने भएकोले यो वर्गलाई अस्पताल आबश्यक पर्दैन | ८५ % संक्रमितलाई घर, होटेल, रिसोर्ट, लज आदिमा राख्दा अस्पतालको लोड कम हुन्छ | जसले गर्दा बाँकी १५ % लाई राम्रो उपचार हुन्छ | अन्य बिरामीलाई पनि सेवा लिन सजिलो हुन्छ | ७-८ % लाई आबश्यक पर्न सक्ने आइसीयु, भेन्टिलेटर आदिको क्षमता बढाउन अहिलेदेखि तयारी गर्नुपर्छ | अस्पतालको जनशक्ति अरु बिरामीको उपचारमा फोकस हुन पाउँछ |


– कोरोना संक्रमण छिट्टै नहराउने भएकोले जनतालाई कोरोनासंग कसरी काम गर्ने ? भन्ने बारे गाइडलाइन बनाउनु आबश्यक छ |


– धनी व्यक्तिलाई सित्तैमा परीक्षण र उपचार उपलब्ध गराउनु पर्दैन | उनीहरुलाई ‘ पेइंग काउन्टर ‘ मा शुल्क तिरेर परीक्षण गर्ने, अस्पतालमा शुल्क तिरेर उपचार गराउने, स्टार होटेलमा क्वारेन्टाइन / आइसोलेसनमा राख्ने ब्यबस्था मिलाउन सकिन्छ |

यसरी उनीहरुबाट प्राप्त शुल्कले मध्यम तथा निम्न बर्गका व्यक्तिलाई निशुल्क परीक्षण र उपचार गर्न टेवा मिल्छ |


– नेपालसंग परीक्षण किटको अभाव हुँदैछ | यथाशीघ्र किटको ब्यबस्था गरेर पहुँचवालालाई होइन, जोखिम बर्गलाई परीक्षण गर्नुपर्दछ | हामीले बुझ्नुपर्दछ कि आज PCR नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ | तसर्थ सुरक्षित अभ्यास नै समाधान हो |

डा. पाण्डेको निस्कर्ष छ नेपालका विभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष छ ‘टास्क फोर्स’ बनाऔँ 

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको निस्कर्ष निकालेका छन् ।

उनले लेखेका छन्, ”त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो । उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं । यसलाई पुष्टि गर्ने केहि आधार छन् ।”

सामाजिक सञ्जालमार्फत् स्वास्थ्यउपचारका टिप्स, जानकारी, कोरोना भाइरस र यसबाट बच्न उपायहरु सेयर गरिरहने जनस्वास्थ्यविद् डा. पाण्डेले नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु हुनु, फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिनु, माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका विभिन्न ठाउँमा केहि मृत्यु भएका घटना, फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा नेपालमा अत्यन्तै न्यून केस देखिनु लगायतका आधारहरु दिँदै ‘अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्ने’ बताएका हुन् ।

उनले लेखेका छन् : 

नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको मेरो निस्कर्ष छ | त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो | उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं | यसलाई पुष्टि गर्ने केहि आधार छन् |
.
१. बेलायतबाट प्रकाशित हुने डेलिमेल लगायत धेरै पत्रिकाले त्यो बेला लेखेका थिए कि नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको थियो | त्यो नै स्पेनको कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु थियो |

२. फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो |

३. माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका बिभिन्न ठाउँमा केहि मृत्यु भएका थिए |

४. फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीब्र गतिमा फैलिंदा नेपालमा अत्यन्तै न्यून केस देखिएका थिए | यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालको केहि जनसंख्या कोरोना संक्रमण बिरुद्ध इम्युन भएको हुनसक्छ | बैशाखसम्म एकजना बिरामी पनि आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको थिएन | त्यस्तै कसैको पनि मृत्यु भएको थिएन |

५. नेपालका अधिकांश ठाउँमा र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिलाई PCR टेस्ट गर्दा नेगेटिभ देखिएको छ | र्यापिड टेस्टमा ३० देखि ६० प्रतिशत फल्स रिपोर्ट आउँछ, १०० % फल्स रिपोर्ट आउंदैन | र्यापिड टेस्ट पोजिटिभ तथा PCR टेस्ट नेगेटिभको अर्थ के हुन्छ भने अहिले सक्रिय संक्रमण छैन तर पहिले संक्रमण भएर शरीरमा एन्टिबोडी बिकास भएको छ |

६. हालसम्म र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिहरुको क्लस्टर अध्ययन गर्ने हो भने कुन कुन ठाउँमा कोरोना फैलिएको थियो भनेर अनुसन्धान गर्न सजिलो हुन्छ |

७. गुल्मीको मदाने गाउँपालिका शिक्षकलाई जन्डिस तथा निमोनियाको संकेत भनेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको भएन | उनलाई बुटवल रिफर गरियो | बुटवलको क्रिम्सन अस्पतालमा ल्याउँदा उनलाई सास फेर्न निकै गाह्रो भएको थियो | त्यसैले भेन्टिलेटरमा राखियो | उनको कोरोना टेस्ट पोजिटिभ देखियो | उनको ट्राभल हिस्ट्री छैन | गाउँमा कसैलाई कोरोना पोजिटिभ देखिएको थिएन | यो किसिमका केस अधिराज्यभर फाट्टफुट्ट देखिएका छन् | यसको अर्थ के हुन्छ भने नेपालका बिभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष अहिले पनि छ |

यी केसको आधारमा के भन्न सकिन्छ भने नेपालमा जनवरी र फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आएको थियो |

कोरोना संक्रमणको दोस्रो वेभ :
अप्रिल र मे मा नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ आएको छ | यो वेभ खास गरेर भारतबाट आएका नेपाली र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा ब्यापक मात्रामा देखिएको छ | परिक्षणको दायरा निकै साँगुरो भएकोले यो वेभको क्षेत्रफल अध्ययन हुन सकेको छैन | अहिले भारतसंग जोडिएका सिमाना, त्यहाँबाट बिभिन्न गाउँ तथा सहरमा पुगेका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, क्वारेन्टाइनमा बसेका व्यक्तिमा धरै देखिएको छ | संक्रमण फैलिएको इन्डिकेटर बताउने समुह जस्तै डाक्टर, नर्स, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, बालबालिका तथा सक्रिय उमेरका व्यक्तिमा बिभिन्न ठाउँमा छरिएर देखिएको छ | यो वेभ साउनसम्म तीब्र गतिमा फैलिने देखिन्छ | रोकथामका उपायलाई गम्भीर रुपमा परिचालन नगर्ने हो भने साउन मसान्तसम्म नेपालमा २४ हजार व्यक्ति संक्रमित हुने मेरो निस्कर्ष छ | यसको १५ % अर्थात ३६०० जनालाई अस्पतालको सेवा आबश्यक पर्न सक्छ भने १२०० जनालाई आइसीयु / भेन्टिलेटर आबश्यक हुनसक्छ | गुणस्तरीय उपचार र तयारी नभएमा करिब ६०० जनाको मृत्यु हुनसक्छ | यो ग्यारेन्टी होइन, मेरो अध्ययन र विश्लेषण हो | राज्यले न्युनतम यो संख्याको उपचारको लागि र मृत्युदर घटाउन गम्भीर तयारी गर्नुपर्ने देखिन्छ |

तेस्रो वेभ :
विश्वका बिभिन्न देशमा भएको अध्ययन अनुसार नोभेम्बरदेखि तेस्रो वेभ सुरु हुनेछ | नेपालको सन्दर्भ हेर्ने हो भने तेस्रो वेभ मंसिर, पुस र माघसम्म रहने देखिन्छ | यो वेभ दोस्रो वेभभन्दा कमजोर हुने प्रक्षेपण गर्न सकिन्छ | यो वेभ आउने बेलासम्म कोभिड १९ को औषधि तथा खोपमा धेरै प्रगति हुने अनुमान गर्न सकिन्छ | राज्यले बिज्ञहरुको टास्क फोर्स बनाएर यो अवस्था नियन्त्रण गर्न आबश्यक पहल गर्नु जरुरी छ |

कोरोना संक्रमणबारे जान्नैपर्ने तथ्यहरु

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले आफ्नो सामाजिक सञ्जालबाट यसअघि सेयर गरेकोमहत्वपूर्ण जानकारी यस्तो छ ।

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु |
.
– अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन | पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन | कोरोना श्वासप्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ | तर सबैलाई सर्दैन | नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो |

– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन | कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे / झिंगाको टोकाइबाट सर्दैन |

– खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ | कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ |

– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ |

– मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ | त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पून : प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ |

– संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन | कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ | यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ | अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन |

– कोरोना भाइरस हावाबाट सर्दैन | ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ |

– कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ | साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ | त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ |

– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ | अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ | तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ | संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन |

– धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन | धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ | तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ | टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ | जसले थप तनाब उत्पन्न हुन्छ |

– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ | त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ |

– एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ | कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो | १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन | एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन | कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ | त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ |

– बालबालिका जोखिम बर्गमा पर्दैनन् | तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन |

– कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन | हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ | त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ |

– कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन | अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ | आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसंग दुरी कायम गर्दा ८५ % संक्रमितलाई निको हुन्छ | लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ |

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | ८५ % संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ | मृत्युदर जम्मा ३ % हुन्छ |

– कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन | सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ |

– संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २-३ महिनाको स्टोर गर्ने, तरकारी फलफुल हप्ताको एकपटक किन्ने, दुध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ |

– कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ | तसर्थ सरसफाई, सामाजिक दुरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ |

– हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन | साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ |

– नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा PCR Test गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो | दोस्रो केसको हकमा पनि सुरुमा test गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल / सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो |

– संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं | चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ | यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस