अमेरिकी हिंसा : जर्ज फ्लोयडको ‘पोस्टमार्टम रिपोर्ट’बाट पत्ता लाग्यो रहस्य !

काठमाडौं । अमेरिकामा पुलिसको शिकार भएर ४६ वर्षका एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युका कारण अमेरिकामा प्रदर्शन जारी रहेको छ ।

यसैबीच पोस्टमार्टमको रिपोर्टमा उनको घाँटी थिचेर मारिएको रहस्य खुलेको छ ।

गएको हप्तामा जर्ज फ्लोयडलाई गिरफ्तार गरेपछि एक पुलिस अधिकारीले उनको घाँटीमा घुँडाले करिव ८ मिनेटसम्म थिचेका थिए ।

जसका कारण उनको मृत्यु भएको थियो । गत सोमवार मिनियापोलिसको हेनेपिन काउण्टी मेडिकल एग्जामिनरले आफ्नो आधिकारीक आटोप्सी रिपोर्ट जारी गरेको छ ।

जसमा पुलिस अधिकारीहरुले घाँटी थिचेका कारण फ्लोयडको कार्डियोपल्मोनरी अरेस्ट भएको र त्यसपछि उनको मृत्यु भएको बताइएको छ ।

एग्जामिनरले आफ्नो बयानमा मृत्युको कारण अन्य आरोप लगाउन आवश्यक नरहेको पनि बताएको छ । साथै रिपोर्टमा फ्लोयड हृदयरोग र हाई ब्लड प्रेशरको रोगी भएको र उनले मादक पदार्थ सेवन गरेको कारण उनको मृत्यु अचानक भएको बताइएको छ ।

यस घटनामा त्यहाँका एक पुलिस अधिकारीलाई फ्लोयडको हत्या गरेको आरोपमा थर्ड डिग्री हत्याको आरोप लागेको छ ।

साथै अन्य तीन अधिकारीहरुलाई कामबाट बर्खास्त गरिएको छ । फ्लोयडको परिवारका वकिलले सोमवार पोस्टमार्टमको रिपोर्टमा घाँटि थिचेको र ढाडमा दबाव दिएका कारण उनको मृत्यु भएको बताएका छन् ।

वकिल बेन क्रम्पका अनुसार एक अर्का डाक्टरको पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेपछि फ्लोयडको टाउकोमा रक्त सञ्चार हुन नपाएको र त्यहि कारणले श्वास फेर्न समस्या भएकोले उनको मृत्यु भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?