आन्दोलनकारीविरुद्ध सेना प्रयोग गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गरेर भएपनि अमेरिकाको सडकमा देखिएको हिंसात्मक प्रदर्शन र उत्शृंखला अन्त्य गरेरै छाड्ने घोषणा गरेका छन् । यद्यपी सरकारले नै अहिले आन्दोलनमा बल प्रयोग गरिरहेको र ह्वाइटहाउसको गेटबाहिर उभिएका शान्तिपूर्ण प्रदर्शनकारीमाथि पनि टियर ग्याँस, फ्ल्यास ग्रिनेड र रबर बुलेट प्रहार भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जर्ज फ्लोइडको हत्यापछि अमेरिकामा प्रदर्शन चर्किएको छ । यसैक्रममा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले आफु शान्तिपूर्ण प्रदर्शनको पक्षधर भएको बताए । तर देशमा भइरहेको लुट र हिंसाविरुद्ध सबै संघीय स्रोत परिचालन गर्ने घोषणा पनि उनले गरे । लुटतन्त्र नरोकिएमा अमेरिकी सैनिकलाई समेत नियन्त्रणका लागि प्रयोग गर्ने उनले बताए ।

प्रहरी अधिकारी डेरेक चाउभिनले बलपूर्वक घुँडाले घाँटीमा थिचेपछि सास फेर्न नसकेर मिन्नेसोता राज्यको मिन्नेइपोलिसमा फ्लाईडको मृत्यु भएसँगै न्यायको माग गर्दै अमेरिकी जनता सडकमा छन् । उनीहरुले काला र गोराबीचको विभेद कायमै रहेको र यसको अन्त्य हुनुपर्ने बताएका छन् । अश्वेत समुदायका व्यक्तिविरुद्ध राज्य र प्रहरी निर्मम रहदैं आएको उनको दाबी छ ।

यसैबीच ट्रम्पले विभिन्न राज्यका गर्भनरलाई ‘कमजोर’ को संज्ञा दिएका छन् । गर्भनरहरुसँगको भेटमा उनले बल प्रयोग गर्नबाट राज्य सरकार चुकेको दाबी गरे । प्रदर्शन नियन्त्रणमा लिनु राज्य सरकारको दायित्व रहेको र राज्य सरकारले गर्न नसके संघीय सरकारले कडा कदम चाल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?