बिक्री गर्न नपाएरै खेर गयो तरकारी

कैलाली । धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन् ।

लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको १८ क्विन्टल टमाटर, ३० क्विन्टलभन्दा बढी बन्दा, लौका, फर्सी, काँक्रालगायतका तरकारी बिक्री गर्न नपाएरै बारीमा सडेको कृषक फुरहार अहमदले बताए। बजारका होटल, चौराहाको सब्जीबजार, हाटबजारलगायतका स्थान पूर्णरूपमा ठप्प भएपछि बारीमै तरकारी कुहिएको कृषक अहमदको दुःखेसो छ ।

“बन्दाबन्दीबीच कोरोनाको सङ्क्रमण समाधान हुन्छ र उत्पादित तरकारी बिक्री गरौँला भन्ने विचार थियो, तर झन् जोखिम बढ्दै गई निरन्तर बजार बन्द भएपछि तरकारी पूर्णरूपमा बिग्रियो”, उनले भने, “त्यसैमा तीन/चार दिनको वर्षाका कारण झन् नोक्सानी भएको छ ।”

साना तथा ठूला होटलमा चाउमिन, मःमलगायतका परिकार बनाउन प्रयोगमा आउने बन्दा त पूरै किराले खाएर तथा कुहिएर सखाप भएको उनले बताए। “यस वर्ष अन्य वर्षभन्दा बारीमा तरकारी एकदमै राम्रो उत्पादन भएको थियो, व्यवसाय निकै फाइदामा जान्छ भन्ने आश गरेको थिएँ, तर परिणाम ठीक उल्टो हुन पुगी व्यवसायमा घाटा बेहोर्नुपर्यो”, उनले भने ।

वरिपरिका स्थानीय ग्राहक फुटकर तरकारी किन्न बारीमा आउने गरेको भए पनि त्यो बिक्रीले खासै फरक नपर्ने उनको भनाइ छ । बन्दाबन्दीअघिका दिनमा क्विन्टलका क्विन्टल तरकारी बजार जाने गर्दथ्यो तर आजभोलि थारै मात्राको बिक्रीले ठूलो परिमाणमा उत्पादन भएको तरकारी त्यत्तिकै खेर गएको हो ।

“तीन बिघाभन्दा बढी जमीन भाडामा लिई प्रत्येक वर्ष धान र गहुँ गरी दुई सिजन गरेर साहुलाई जमीनको भाडा तिर्ने गर्दर्थेँ तर यसपालि त भाडा तिर्न त परै जाओस् परिवार, बालबच्चा पाल्नसमेत मुस्किल भइरहेको छ”, उनले भने ।

विगत लामो समयदेखि व्यवसायिकरूपमा तरकारी खेती शुरु गरेका अहमदले वार्षिक आठदेखि १० लाख रुपैयाँ जति फाइदा हुने गरेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?