प्रदेश नं २ मा मात्रै ६ सय ९५ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

सो अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए ।

यस प्रदेशमा आजसम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराए । यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ ।

यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टाइनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टाइनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?