कुमारी बैंकद्वारा देवः विकास बैंकलाई प्राप्त गर्ने प्रस्ताव पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवः विकास बैंकलाई प्राप्त गर्ने प्रस्ताव पारित भएको छ ।

कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा सोमवार बसेको बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।

सो साधारण सभामा कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको छ ।

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुने बैंकले जनाएको छ । बैंकका अनुसार साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेष साधारण सभामार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।

यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?