तेह्रथुम, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एमाले) प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, सल्लाहकार किशोरचन्द्र दुलाल, जिल्ला उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना तथा उपसचिव भूपतिलाल श्रेष्ठ सहितका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरेका छन् आठराई गाउँपालिका–४, साबिक इवा गाविस–२, तीनसल्लेमा अहिले पनि ओलीको जन्मघर र जग्गा रहेको छ । नेकपा (एमाले) का अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा जिल्लावासी निकै उत्साहित देखिएका छन् । यहाँ जन्मिए पनि झापालाई कार्यथलो बनाएका ओलीबाट जिल्लावासीले धेरै आशा गर्दै आएका छन् जिल्लाको विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषय र अझ विशेष महत्वका राष्ट्रिय गौरवका आयोजनाको काम पूरा गर्न ओलीले प्रधानमन्त्री हुँदा भूमिका निर्वाह गर्नेमा आफू आशाबादी रहेको नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया