काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया) को खर्च कटाएर अक्षयकोष स्थापना गरेका छन् ।
अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर आइतवार पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । उनले विश्वव्यापीरूपमा फैलँदै गएको महामारीलाई ध्यानमा राखेर गुरुङ परम्परानुसार अन्त्येष्टिपछि गरिने अर्घौँको रकम कटाएर संस्कार समाजका नाममा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको जानकारी दिए।
“पाँच लाख रुपैयाँको अक्षयकोषबाट आउने ब्याजबाट बर्सेनि समाजमा महत्वपूर्ण योगदान दिने प्रेरणादायी व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेछौँ”, उनले भने।
अध्यक्ष गुरुङले बुबाआमाको समाज सेवाप्रतिको भावनाको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरेको बताए।
उनले विगत तीन वर्षदेखि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ संस्कार समाज नेपालको स्थापना गरेर सामाजिक कार्य गर्दै आएका छन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया