चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गरे ।
महानगर प्रमुख जिसीले महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग गरिएको बताउनुभयो ।
महानगरका उपप्रमुख तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गठित उच्चस्तरीय समितिका संयोजक गुरुङले आवश्यकताका आधारमा ती सामग्री अन्य संघसंस्था, पोखरासँग सीमा जोडिएका गाउँपालिका, नगरपालिका र पोखराको भगिनी सम्बन्ध भएका नेपालका धरान र धनकुटालाई पनि प्रक्रिया पु¥याएर उपलब्ध गराइने बताए ।
चीनबाट सामग्री ल्याउन पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल चीन जनमैत्री
संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेले समन्वय गरेका थिए। महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो । भगिनी शहरबाट नौ प्रकारका सामग्री पोखरा आइपुगेको छ ।
दश हजार सर्जिकल मास्क, तीन सय गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगर अन्तरराष्ट्रिय सम्बन्ध समन्वयकर्ता तथा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।
तिमिल्सिनाका अनुसार यसअघि भगिनी शहर यिविन र गाञ्जी शहरबाट २० हजार मास्क आइसकेको र छुचाओ शहरले पठाएको सामग्री बाटामै छ ।
सबै शहरबाट महानगरलाई करीब ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो ।
पोखराले चीनका हाइकाओ, नानिङलगायत शहरसँग पनि भगिनी सम्बन्ध कायम गरेको छ ।
त्यसबाहेक जापानको कोमागाने, टर्कीको आडालर र दक्षिण कोरियाको ग्यान्बुक गु शहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया