अरु विकल्प नखोजिकन, लकडाउनमात्रै कहिलेसम्म ?

लकडाउनको दुई महिना बितिसक्दा पनि सरकारले यसको विकल्प के हुन्छ भन्ने निर्णय गर्न सकेको छैन ।

हरेक पटक समयावधि सकिन लाग्यदा यसलाई सम्ब्याउने तर अन्य वैकल्पिक उपायहरु के हुन सक्छन् भन्ने खोजी नगर्ने सरकारी रवैया छ । यहीअनुसार फेरि शनिबार १२ दिनका लागि सरकारले लकडाउन अवधि थप्ने निर्णय गरिसकेको छ । कान्तिपुर दैनिकमा खबर छ।

अब त स्थिति यस्तो हुन थाल्यो कि लकडाउन अवधि पनि बढ्ने, संक्रमित र मृतकहरू पनि थपिँदै जाने । यो अवस्था कहिलेसम्म ? सरकारी अधिकारीहरू पनि भन्न सक्ने अवस्थामा छैनन् । सडक तथा नाकाहरूमा सुरक्षाकर्मी छन् । संक्रमण थप फैलिँदै गएका कारण देखाउँदै शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालन गर्ने निर्णयसमेत गरिसकेको छ । जसका कारण अब नागरिक आवागमनमा सैनिक शक्तिसमेत प्रयोग हुन सक्छ ।

अहिलेको मोडालिटीअनुसार एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाइएको छ । संक्रमण फैलिएका र नफैलिएका स्थानमा एकै किसिमको ‘लकडाउन रणनीति’ सरकारले अपनाएको छ ।

वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउनका बीच ४४ वटा क्षेत्रलाई पहिचान गरेर स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालन अनुमति दिएको थियो । तर त्यो निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन । संक्रमणविरुद्ध जुध्न गरिएको लकडाउनलाई सरकारले ‘निर्विकल्प उपाय’ ठान्दा नागरिक तहबाटै यसको विरोध पनि हुन थालेको छ ।
उच्चस्तरीय समितिका सदस्य सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारी बुधबारबाट लकडाउनको मोडालिटीमा केही परिवर्तन हुने गरी खाका बन्ने क्रममा रहेको दाबी गर्छन् । तर सरकारले तय गर्ने नयाँ मोडालिटीमा कोरोना संक्रमणको कम जोखिम भएका क्षेत्रका साना/मझौला तथा ठूला उद्योग/कलकारखाना, कृषि, स्वरोजगारमूलक क्षेत्र सञ्चालन गर्ने/नगर्ने अझै अन्योल छ ।

‘जेठ २० गतेसम्म त अहिलेकै मोडालिटी कायम रहन्छ, त्यसपछि भने बढी जोखिम, जोखिम र सामान्य अवस्था गरी क्षेत्रगत हिसाबले खुकुलो पार्दै लैजाने भन्नेमा छलफल भइरहेको छ,’ सचिव विडारीले भने, ‘बुधबार साँझसम्म लकडाउनको स्वरूपबारे केही न केही नयाँ खाका ल्याउँछौं ।’ नयाँ मोडालिटीबारे क्राइसिस म्यानेजमेन्ट सेन्टर र उच्चस्तरीय समितिमा छलफल जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?