हालसम्म २ सय २० जनाले जिते कोरोना (प्रादेशीक विवरणसहित)

काठमाडौं । नेपालमा कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या २ सय २० पुगेको छ । आज मात्र थप १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

मकवानपुर हेटौंडाकी २५ वर्षिया महिला भरतपुर अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएकी हुन् । हिजोमात्र थप १३ जना कोरोना उपचारपछि घर फर्किएका थिए ।

त्यस्तै, नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तो छ  प्रादेशीक विवरण :  

प्रदेश १ मा : ३० जना
प्रदेश २ मा : १०४ जना
बाग्मती प्रदेशमा : २९ जना
गण्डकी प्रदेशमा : ३ जना
प्रदेश ५ मा : ४८ जना
सुदूरपश्चिम प्रदेशमा : ६ जना

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको हिजो(शनिवार) मृत्यु भएको थियो ।

उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए ।

क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाजुराकी २ वर्षीया बालिकाको शनिवार राति २ बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन् ।

मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन् । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षका युवक, गुल्मीका ४१ वर्षीय पुरुष, अर्घाखाँचीका३० वर्षीय पुरुष, ललितपुरका ५७ वर्षीय पुरुष र बाराका ७० वर्षीय वृद्ध गरी ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?