मन्त्रालयले भन्यो- कोरोनाबाट नेपालमा थप २ को मृत्यु, मृतक संख्या ८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको हिजो(शनिवार) मृत्यु भएको थियो ।

उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए ।

क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाजुराकी २ वर्षीया बालिकाको शनिवार राति २:३० बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन् । उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् ।

मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन् । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षका युवक, गुल्मीका ४१ वर्षीय पुरुष, अर्घाखाँचीका ३० वर्षीय पुरुष, ललितपुरका ५७ वर्षीय पुरुष र बाराका ७० वर्षीय वृद्ध गरी ६ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा आज थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । भने हालसम्म २ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आज मात्र मकवारपुरकी १ महिला कोरोना उपचारपछि निको भएर घर फर्किएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?