काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७)को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् ।
यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।
सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी७ को संरचना नै “पुरानो र असान्दर्भिक” भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताए ।
अमेरिकी संचार माध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भनेका छन्, “मैले जी-७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जि-७ समूहले सम्बोधन गर्न सक्दैन ।”
विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जि-७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो ।
जी-७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्रराष्ट्र सहित कोरोनाभाइरसबाट प्रभावित राष्ट्रहरुलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहनु भएको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिए ।
जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोनाभाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी-७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेका थिए ।
राष्ट्रपति ट्रम्पले जी-७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गरेका छन् । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी-७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाए ।
रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया