प्रतिनिधिसभा शून्य समयः क्वारेन्टाइन व्यवस्थापनदेखि रुकुम घटनासम्म

काठमाडौं । स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने माग सांसदहरुले गरेका छन् ।

स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न पनि माग गरेका छन् । बैठकमा सांसदहरुले खेति लगाउने समयमा किसानलाई बिउ, मल र औषधिको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

सांसद लालबाबु पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेको प्रति सरकारको ध्यानाकर्षण गराए । स्थानीय तहहरुमा भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने उनले बताए ।

सांसद शशी श्रेष्ठले लक डाउनका कारण जनजीवन कष्टकर बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लक डाउनको मोडालिटी परिवर्तन गर्नुपर्न उनले बताए । स्थानीय रुपमा मापदण्ड अनुसार निश्चित दुरीलाई कायम गरी आवतजावतलाई खुकुलो बनाई दैनिक जीवन सहज र व्यवस्थित बनाउन उनले आग्रह गरे ।

त्यस्तै सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको सवालमा पक्ष विपक्ष हुँदैन भन्ने कुरा पुष्टि गर्दै संविधान संशोधनको पक्षमा कांग्रेसले गरेको निर्णयको स्वागत गरिन् । सांसद विरोध खतिवडाले सीमा समस्याको सवालमा राष्ट्रिय एकता प्रदर्शन भएकोमा खुसी व्यक्त गरिन । भारतले उक्त सडकमा सवारी सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै उनले यातायात चले होटेल, रेष्टुरेन्ट, रिसोर्ट र लजहरु खुल्ने भन्दै पहिलो चरणमा नै रोक्ने पहल गर्न सरकारसँग माग गरे । उनले भारतीय सरकारको रोड परमिट लिएर यातायात चल्न दिन नहुने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसदहरु रुकुम पश्चिमको घटनाका सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद विनाकुमारी श्रेष्ठले रुकुम पश्चिम, रुपन्देही लगायत नेपालका विभिन्न ठाउँमा घटेका घटनाहरु दलित विरुद्ध मात्रै नभइ मानवता विरुद्धको अपराध भएको भन्दै दोषिलाई कारवाही गर्न माग गरिन् ।

सांसद शान्तिमाया तामाङ पाख्रिनले जातियताका कारण रुकुममा घटेको घटना अत्यन्तै अमानविय रहेको बताउँदै दोषिमाथि कारवाही गर्न आग्रह गरिन् ।

सांसद शान्ता चौधरीले रुकुमको घटना कहालीलाग्दो र दर्दानाक भएको बताइन् । प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध नभएको उल्लेख गर्दै प्रेममा जातको प्रश्न नउठ्ने समेत बताइन् । जातिय रुपमा कसैलाई ठूलो र कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता स्वीकार्न नसकिने उनले बताइन् । प्रेमकै कारण मृत्युको अवस्थामा पु¥याउनु खेदजनक भएको र जातिय प्रश्न उठाउनु झनै निन्दनिय भएको उनले बताइन् । रुकुमको घटना अपराधजन्य भएको भन्दै दोशिलाई कारबाही गर्न उनले माग गरिन् ।

त्यस्तै सत्यनारायण शर्मा खनालले कोरोनाले पुरै विश्वलाई ढाकिसक्दा पनि नेपालमा आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था हुन नसकेको बताए । हजारौं भोका नेपालीहरुको हुल सिमामा आइपुगेपनिसरकार आत्तिएर उनीहरुको चेकजाँच नै नगरी गाउँ भित्र्याइरहेको बताए ।

सांसद विद्या भट्टराईले बन्दाबन्दीको अवधिमा ५६ जना सुत्केरी महिलाहरुको मृत्यु भएको र ६० हजार भन्दा बढी गर्भवति महिलाहरु स्वास्थ्यसेवाबाट वञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । असुरक्षित गर्भपतनका कारण रक्तश्राब भई महिलाहरुको मृत्यु भइरहेको उल्लेख गर्दै उनले आधारभुत स्वास्थ्य सेवा र प्रजनन स्वाथ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गर्दै असहज अवस्थामा पनि सेवा प्रदान गर्न सरकारको ध्यानकाकर्षण गराइन् ।

त्यस्तै सांसद विन्दा पाण्डेले लकडाउन सुरु भएपछि अस्पतालमा सुत्केरी हुने महिलाहरुको संख्या १० प्रतिशत भन्दा कम भएको बताइन् । बालिकाहरुमा माथिको हिंसा बढेको उल्लेख गर्दै उनले चैतमा महिनासम्म ५३ जना सुत्केरी महिलाको मृत्यु भएको बताइन् । महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?