भारतीय समूहले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि दशगजामा हवाई फायर

काठमाडौं – सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप हुँदा सशस्त्र प्रहरीले केहि राउण्ड हवाई फायर गरेको छ ।

नेपाल प्रवेश गर्न खोजेका एक जना तस्करलाई प्रहरीले उतै फर्काएपछि ति व्यक्ति ३०/ ४० जनाको समुह बनाएर आई जबर्जस्ती नेपाल छिर्न खोजेका थिए ।

उनीहरुले प्रहरीको हतियारसमेत नियन्त्रणमा लिने प्रयास गरेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर खोलेको हो ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट सो अराजक समूह नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । हुलहुज्जत गरी प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

उनीहरुले सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजेका थिए ।

घटना आज विहान करिब ६ बजेतिर भएको हो ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएर भागेका थिए । सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । अहिले अवस्था सामान्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?