६७ लैङ्गिक हिंसा घटना दर्ता

नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ । जिल्लामा घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुर्व्यवहारलगायत घटना वृद्धि भएपछि संवाद समूह, बाँकेले भर्चुअल (अनलाइन) छलफलमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै घटना न्यूनीकरण र न्यायका लागि यस्तो पहल गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार गत चैत ११ देखि मसान्तसम्म १७, वैशाखमा ३६ र जेठ १५ गतेसम्म १४ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् ।

बन्दाबन्दी अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसबाहेक जिल्ला प्रहरी कार्यालयमा महिलामाथि गाली बेइज्जती, कुटपिट र बेपत्ताका घटना पनि दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको भर्चुअल छलफलमा महिला हिंसाका घटना, स्वरुप तथा प्रवृत्ति र नियन्त्रणका लागि भएका साझा प्रयासका विषयवस्तुमाथि संवाद गरिएको थियो ।

समूहका जिल्ला सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको संवादमा सहभागीले कोरोना सङ्क्रमणका समयमा सरकारका मौजुदा संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कोरोना सङ्क्रमणको सन्त्रास र लकडाउन अवधिमा लैङ्गिक हिंसाका घटनामा कमी नआएको बताउँदै बन्दाबन्दी लागू भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा ६७ लैङ्गिक र महिला हिंसासँग सम्बन्धित घटना दर्ता भएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, अधिकारकर्मी कमला पन्त, प्रल्हादबहादुर कार्कीलगायतले प्रहरीको एकल प्रयासले मात्र महिलामाथिको हिंसा रोक्न नसकिने भएकाले सबै पक्षको सहकार्यमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?