यसकारण दर्ता भएन राजपाको संविधान संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन् ।

संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका आक्रोशित जनताहरुको कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको उनले बताए । संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेपनि दर्ता भने हुन सकेन । विधेयक दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता ठाकुरले भने, ‘‘अहिले देशको एक भागको जनताका आक्रोशित छन् । उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।’’

नेता ठाकुरसँगै राजपाका केही नेताहरु संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेपनि समाजवादी पार्टीका नेताहरु भने सहभागी थिएनन् । संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ । सरकारले नयाँ नक्सा जारी गरेसँगै संशोधनको प्रकृया अगाडी बढाएपछि राजपाले आफ्ना मागहरु पनि समेट्नुपर्ने बताएको छ । सोही अनुसार नेताहरु संसद सचिवालय पुगेपनि सचिवालयका महासचिव डा. भरतराज गौतमले आवश्यक अध्ययनपछि मात्रै दर्ता हुने बताएपछि नेताहरु आक्रोशित हुँदै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?