काठमाडौं – परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको उनको भनाई छ ।
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो । भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताए ।
उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए । उनले भने ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरु गरीराखेका छौं । अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन ।
हामी निरन्तर टचमा छौं ।’ उनले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको समेत बताए ।
उनले भने ‘भूमि फिर्ता गर्ने गरिनै हामीले यि सबै कुराहरु गरेका हौं र वार्ता हामी गछौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको ।’
उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताए । उनले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गरेका थिए। संसदहरुले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भिर हुन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया