२०७७, १६ जेष्ठ शुक्रबार १३:३६

सिन्धुपाल्चोकमा हावाहुरीले मकै सोत्तर


प्रकाशित मिति : २०७७, १६ जेष्ठ शुक्रबार १३:३६

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै आएको हावाहुरीले क्षति पु-याएको छ । पटक–पटकको हावाहुरीले नौबीसे, सातबीसे, ढाँडेखोला, कामीटार खोला, कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर क्षति पुर्‍याएको वडासदस्य तिलक कार्कीले जानकारी दिए ।

बेँसी भेगमा त्यस क्षेत्रका कुविण्डे, जलवीरे, नौबीसेलगायतका खेत मकै उत्पादनका लागि जिल्लाकै उर्वरभूमिका रूपमा परिचित छ । किसानले हाइब्रिडलगायत विभिन्न जातका मकै लगाएकामा सम्पूर्णबाट ढलेर सोत्तर भएपछि उत्पादनमा कमी आउने जनाइएको छ ।

त्यहाँका ढाँडेखोला, कामीटार खोला र लामोसोतीका फाँटहरु जिल्लामा आवश्यक पर्ने रामपुर कम्पोजिट जातका मकैको बीउ उत्पादन हुने क्षेत्र हो । यस वर्ष उक्त जातको बीउ उत्पादन गर्न करिब ५०० रोपनी क्षेत्रमा लगाइएकामा आगामी वर्षको लागि बीउको समेत अभाव हुने उनले बताए ।

त्यसैगरी बारीमा लगाएको करिब २० रोपनी क्षेत्रको मकैबालीमा पनि अमेरिकी फौजी किराले सखाप पारेको वडाध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए । जिल्लाका चौतारा सागाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी तथा इन्द्रावती गाउँपालिकाका केही वडा पनि अमेरिकी फौजी किराको प्रकोपबाट प्रभावित भएको किसानले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस