भारतीय मिडियामा छापिएको दुई समाचारप्रति नेपाली सेनाको कडा आपत्ति

काठमाडौं । भारतीय मिडिया हिन्दुस्तान टाइम्स र टीएफआईपोस्टमा प्रकाशित फरक फरक दुई समाचारप्रति सेनाले कडा आपत्ति जनाएको छ ।  सेनाले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै सो समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको बताएको छ ।

यस्तै राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसाय राखिएको भन्दै सेनाले भनेको छ, ‘सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ।

यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।’

सेनाले आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?