काठमाडौं । गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यले कोरोना महामारीसँगै रोजगारी गुमेका सर्वसाधारणलाई रोजगारीको सुनिश्चितताका लागि कृषिको आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताएका छन् ।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधवार प्रस्तुत गरेका विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकता विषयको आजको छलफलमा सदस्यले कोरोना भाइरसले सिर्जना गरेको बेरोजगारीको समस्या समाधान गर्न युवालाई कृषिको आधुनिकीकरणमार्फत आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।
प्रदेशसभा सदस्य रामबहादुर गुरुङले उत्पादन र उत्पादकत्व बढाउँदै स्वरोजगार अभिवृद्धि गर्नुपर्ने बताए।
सदस्य सरिता गुरुङले स्वास्थ्यसँगै कृषि र रोजगारीमा जोड दिनुपर्ने बताउँदै आधुनिक कृषि प्रणालीको उपयोगका माध्यमबाट विदेशबाट फर्किएका व्यक्तिको रोजगारी सुनिश्चित गरिनुपर्ने धारणा राखे । महिलाको सशक्तीकरणलाई आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता उहाँले औँल्याए ।
सदस्य चन्द्रमोहन गौचनले स्वास्थ्य संस्थालाई विशिष्टीकृत बनाउने विषय सरकारले प्राथमिकतामा राखेको तथा व्यवस्थित क्वारेन्टाइन एवं सङ्क्रमितको प्रभावकारी उपचारलाई समेटेको बताए।
महामारीबाट प्रभावित यातायात, कृषि, पर्यटन आदिको वर्गाीकरण गरी तिनलाई सहयोग पुर्याउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
सदस्य मेखलाल श्रेष्ठले रोगी भोकालाई बचाउनु अहिलेको आवश्यकता भएको बताउँदै विदेशबाट आएका बेरोजगारलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ सोच्नुपर्ने धारणा राखे । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी तथा सर्वसाधारणलाई लक्ष्य गरी कार्यक्रम आउनु आवश्यक भएको उनले बताए ।
सदस्य कृष्णबहादुर थापाले कृषि सहकारीसँग सहकार्य गर्दै मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रमलाई अघि बढाउनुपर्ने उनले बताए।
बन्दाबन्दी अवधिभर प्रदेशसभा सदस्यको ५० प्रतिशत सुविधा कटाएर आवश्यकतानुसारको खर्चमा लगाउन उनले प्रस्ताव व्यक्त गरे।
स्वास्थ्य र शिक्षालाई राज्यको दायरामा ल्याउनुपर्ने उनले बताए । प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते बिहान ११।०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया