जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्वाारा आर्थिकावस्था कमजोर भएका १६१ जनालाई कामसहित रोजगारी दिएको छ ।
गाउँपालिकाका विभिन्न वडामा आरसिसी, गोरेटो बाटो, सिँचाइ कुलो, ढल निकास र कृषि सडक निर्माणको काम दिएको तथा गाउँपालिकाले तयार पारेको तथ्यांकअनुसार अतिविपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीका समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।
लामो समयदेखि लकडाउन हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध मजबुदर खुशी भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए ।
प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक रु ६६० का दरले पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।
कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् ।
सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई ४२ लाख रुपैयाँ सशर्त अनुदान दिएको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिका रोजगार शाखाले जनाएको छ ।
जिल्लाका तातोपानी, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिका तथा गुठीचौर गाउँपालिकाबाट अतिविपन्न र बेरोजगारको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ लकडाउनको सास्ती खेपिरहेका नागरिकलाई एक हप्ताभित्र कामसहितको रोजगारी दिइने तातोपानी गाउँपालिकाका रोजगार संयोजक सरिता शर्माले बताइन् ।
गत फागुन ८ गते १५ दिने सूचना प्रकाशन गरी रोजगार संयोजकको विज्ञापन गरेको तिला गाउँपालिकाले रोजगार संयोजकको परीक्षा गर्न नसक्दा गाउँपालिकामा रोजगार संयोजक नहुँदा रोजगार कार्यक्रम प्रभावित भएको र कोरोना भाइरस अन्त्य भएपछि रोजगार संयोजकको छनोट प्रक्रिया अघि बढ्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जंगबहादुर बस्नेतले बताए।
भारतबाट भित्रिने बढ्दै
भारतबाट जुम्ला भित्रिनेको संख्या प्रतिदिन बढ्दै गएको छ । सोमवार र मंगलवार मात्रै १०० जना क्वारेन्टिनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले भारतबाट नेपाल फर्कन चाहनेलाई ल्याउन थालेपछि यहाँ संख्या बढेको हो ।
जिल्लाभरका क्वारेन्टिनमा ६४ जना रहेकामा दुई दिनयता बाहिरबाट आएकाको संख्या बढेको जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए।
क्वारेन्टाइनमा बसेकामध्ये ९० प्रतिशत मानिस भारतबाट फर्किएका छन् । जिल्लामा ४३६ शय्याको क्वारेन्टाइन रहेकामा एक हजार पुर्याइने योजनाका साथ अहिले काम भइरहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया