धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।
गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए ।
‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भने, “कोरोनाको पोजेटिभ हो/होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलवार गौरीफन्टा सीमानाकामा बेहोस हुनु भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
उपचारका क्रममा शुरुमा उनलाई अस्पतालको आकस्मिक कक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन् । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया