मधेसी समुदायको राष्ट्रियतामाथि प्रश्न उठाउँदै कर्माछिरिङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको मधेसी समुदायमाथि विवादास्पद टिप्पणी गरेका छन् ।

एक अन्तर्वार्तामा शेर्पाले तराईका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासहुट फुटबल लगिएको बताए ।

‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासहुट फुटबल सुरु गरेका छौं । किनभन्दा त्यहाँ दुईवटा कारण छन् । एउटा, तराईको बच्चाहरुलाई फुटबलप्रति आकर्षण गर्नका लागि , अर्को कुरा राष्ट्रियता सिकाउनका लागि किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ ।’

उनले कसरी राष्ट्रिय सिकाउने भनेर पनि अर्ति दिन भ्याएका छन् । ‘आर्मीको ब्यारेक आउँदा कम्तिमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका छौं ।’ उनले ग्रासहुट कार्यक्रम सफलताको शिखरमा पुगेको दाबी समेत गरेका छन् ।

एएफसीबाट स्विकृत एन्फा विधानको धारा ३ मा तटस्थ तथा भेदभावरहित रहने विषयमा स्पष्ट उल्लेख छ । यस विधानअनुसार रंगभेदी काम गर्नेलाई निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही हुनेछ । तर यही विधानको खिल्ली शेर्पाले उडाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?