कोरोना लक्षण देखिएकी महिलाको शव व्यवस्थापन

सप्तरी । होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ ।

कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

सप्तरीको कञ्चनरुप नगरपालिकाले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाएका परिवारका सदस्यले स्वास्थ्यकर्मीको निगरानीमा शवको दाहसंस्कार गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ बमोजिम पिपिइलगायत सुरक्षा सामग्री उपलब्ध गराएर सतर्कताका साथ शव व्यवस्थापन गरिएको नगरप्रमुख वसन्त मिश्रले बताए।

कार्यविधिमा सकेसम्म अत्यन्तै नजिकको दाहसंस्कार गर्ने ठाउँमा छिटो शव व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब परीक्षणको रिपोर्ट प्रतिक्षा नगरी कोरोनाको लक्षण देखिएकी गर्भवतीको शव व्यवस्थापन गर्नुपरेको नगरप्रमुख मिश्रले बताए।

शव व्यवस्थापन अघि बसेको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले दाससंस्कारमा संलग्न व्यक्तिलाई सेल्फ क्वारेन्टिनमा राख्ने र कन्टयाक्ट ट्रेसिङ टोलीलाई सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा दिइएको उनले जानकारी दिए।

अत्यधिक ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या देखिएकी गर्भवतीको मङ्गलवार घरमा मृत्यु भएको थियो ।

उनलाई १० दिनदेखि ज्वरो आइरहेको परिवारका सदस्यले बताए। परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर डा. विनिता यादवको क्लिनिकमा गर्भ जाँच गराएका थिए ।

उनलाई पिसाबको सङ्क्रमणका साथै १०२ डिग्री ज्वरोसमेत देखिएपछि केही औषधि दिइ तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ‘फिभर क्लिनिक’मा जान सल्लाह दिइएको डा. यादवले बताइन् ।

कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएकाले मङ्गलवार नै मृतकको स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

स्वाब सङ्कलनको पिसीआर रिपोर्ट आउन दुईदेखि तीन दिनसम्म समय लाग्ने भएकाले परिवारसँगको सल्लाहमा सुरक्षितरूपमा शव व्यवस्थापन गरिएको यादवले बताइन्।

मृतक १८ साताकी गर्भवती थिइन् । उनको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?