लकडाउन र कर्फ्यूबारे साउदी सरकारको नयाँ व्यवस्था, नेपाली दूतावासले गरायो जानकारी

काठमाडौं । साउदी सरकारले रमजान र ईद पर्वको समाप्तिसँगै कोरोना संक्रमण नियन्त्रणमा विगत दुई महिना भन्दा लामो समयदेखि लगाएका केही बन्देजका प्रावधानहरुलाई विभिन्न ३ चरणमा विभाजन गरी खुकुलो बनाउँदै लाने निर्णय गरेको छ ।

साउदीको आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचना श्रोतलाई उल्लेख गर्दै साउदी प्रेस एजेन्सीले दिएको जानकारी अनुसार पहिलो चरण (मे २८ देखि मे ३०, २०२० सम्म) मा मक्का बाहेक क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुला गरिएको छ ।

बाँकी समय लकडाउन हुनेछ । यस अघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने भएका छन् भने सामाजिक दुरी कायम गर्नुपर्ने क्लब मनोरञ्जनलगायतका क्षेत्रहरु बन्द रहने छन् ।

दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जून २०, २०२० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ ।

साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभए सम्मका लागि स्थगित नै रहने बुझिएको छ । यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् भने दोस्रो चरणमा पनि, क्लब, मनोरञ्जन क्षेत्रलगायतलाई खोल्ने अनुमति दिइने छैन ।

तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ ।

आजसम्म साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६ पुगेको छ । कूल संक्रमितहरु मध्ये ४८,४५० निको भएका छन् भने ४११ जनाको मृत्यू भएको छ ।

हाल दैनिक २ हजार भन्दा बढी संख्यामा कोरोनाको संक्रमण भएता पनि संक्रमितहरूको संख्या दिनानुदिन घट्ने क्रममा छ । सो संख्या आज दुईहजार भन्दा कम रहेको छ । संक्रमणबाट निको हुनेहरुको संख्या उत्साहजनक हुनुका साथै मृतकहरूको संख्या समेत संक्रमणको तुलनामा न्यून रहेको सरकारले जनाएको छ ।

नेपाल सरकारले विदेशमा विविध कारणले अफ्ठ्यारो अवस्थामा रहेका नेपालीहरुलाई प्राथमिकता बनाई स्वदेश लैजाने सम्बन्धमा आवश्यक आन्तरिक तयारी र लजिस्टिक्सको व्यवस्थापनको कार्य गरिरहेको र प्रकृयाले शीघ्र पूर्णता पाउने विश्वास साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले साउदी सरकारले गरेका व्यवस्थाहरुको ध्यानपूर्वक विचार गर्न र स्वास्थ्यमा सावधानी पुर्याई आफ्ना गतिविधि गर्न कार्यरत नेपालीहरुलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?