कोरोना संक्रमित गाउँपालिका अध्यक्ष मिडियामा, सर्वसाधारणलाई गरे यस्तो आग्रह

तम्घास । कोरोना संक्रमित गुल्मी धुर्कोट गाउँपालिकाका प्रेस विज्ञप्तिमार्फत आफ्नो स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिएका छन् । गाउँपालिका अध्यक्षले आज प्रेस विज्ञप्ति नै प्रकाशन गरी रोगको पहिचान समयमै भएकाले आफू क्वारेन्टाईनमा बस्ने र उक्त समयमा गाउँपालिकाका आगामी योजना बनाउने अवसरका रुपमा लिने बताए । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई संक्रमणको जोखिम हुने हुँदा सुरक्षित रहन आग्रह पनि गरेका छन् ।

चार दिनअघि स्वाब संकलन गरी पठाएकामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै चौतर्फी चासो बढेपछि उहाँले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्यावस्थाबारे जानकारी दिएका हुन् । उनले आफू गाउँपालिकामा निर्मित क्वारेन्टाइन कक्षको अनुगमन तथा विभिन्न कार्यक्रममा तमघाससम्म पुगेको र अन्य ठाउँमा नगएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको स्वाब परीक्षणमा पालिका अध्यक्ष पोखरेलसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले बताए । गुल्मीमा पहिलो पटक मदाने गाउँपालिकामा यही जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ४४ जनाको स्वाब संकलन गरी आज प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । कोरोना संक्रमणका कारण यहाँ हालसम्म एक जनाको ज्यान गएको छ भने तीन जना संक्रमित भएका छन् । धुर्कोटकै अर्का संक्रमित भने वडा नम्बर ४ जैसीथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा क्वारेन्टिनमा हुनुहुन्छ । उनी दीर्घरोगी भएकाले थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको छ । गाउँपालिकाका एउटै वडामा दुई जना संक्रमित भेटिएपछि गाउँपालिका बन्द गरिएको छ ।

जनप्रतिनिधि होम क्वारेन्टाइनमा

गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा राजनीतिक दलका प्रमुख होम क्वारेन्टिनमा बसेका छन् ।

जिल्ला समन्वय समितिद्वारा आइतवार आयोजित बैठकमा संक्रमित पालिका अध्यक्षसँगै १२ वटै पालिका र राजनीतिक दलका प्रमुख सहभागी थिए । बैठकमा मदाने र छत्रकोट गाउँपालिकाका उपाध्यक्ष पनि सहभागी थिए । संक्रमितसँगै बैठकमा सहभागी भएका कारण कोरोनाको जोखिम रहेको आशंकामा जनप्रतिनिधि र दलका नेता क्वारेन्टिनमा बसेको जिससले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?