नेपालमा झन्डै ५ हजार जनालाई कोरोना संक्रमण हुन सक्ने

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गरिएको छ ।

त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अहिले अत्यावश्यक सामग्रीको बोलपत्र समेत आह्वान गरिसकिएको छ।

कोरोनाभाइरस नियन्त्रणका लागि खटिएका जनशक्तिहरुको सुरक्षाका लागि आवश्यक हुने (पीपीई), मास्क र पञ्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म ५४ हजार ४२४ भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।

नेपालमा अहिलेसम्म ४ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या ७७२ पुगेको छ । त्यस्तै १५५ जना स्वास्थ्योपचार पछि घर फर्किएका छन् ।

सामानको जोहो

यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको बताएको थियो । तर परीक्षणको दायरा बढाइएसँगै नेपालमा संक्रमितको संख्या तीव्र गतिमा बढीरहेको छ ।

अहिले भारतबाट नेपलीहरू फर्किने क्रम बढेको छ ।
तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन्।

अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन्।

यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ।

त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागले बताएको छ।

श्रोत बीबीसी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?