नेपालमा कोरोना अपडेट : ७७२ पुगे संक्रमित, आजै थपिएका ९० संक्रमितको विवरण यस्तो

काठमाडौं – नेपालमा आज (मंगलबार) एकैदिन थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।

आज थप ४३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ सय ५५ पुगेको छ ।

स्वाथ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिँदै थपे, “डिस्चार्ज भएकाहरुमध्ये १२४ जना पुरुष र ३१ जना महिला रहेका छन् ।”

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ ।

थपिएका संक्रमितको यस्तो छ विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा महोत्तरीका २ जना रहेका छन् । यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ । रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ । एक जना जनकपुर अस्पतालमा उपचाररत धनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ वर्षिय बालिका पनि छन् । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।

कति जनामा भयो परीक्षण ?
पिसीआर विधीबाट हालसम्म ५४ हजार ४ सय २४ वटा नमूना जाँच गरीएको छ । आरडिटी विधीबाट ९७ हजार ९ सय ६७ जनाको नमूना जाँच गरिएको छ भने गत २४ घण्टामा मात्रै आरडिटी विधीबाट २ हजार ७७५ जनाको जाँच गरिएको छ । यस्तै बितेको २४ घण्टामा पिसीआर विधीबाट ३ हजार ७ सय ८२ जनामा जाँच गरीएको छ ।

आरडीटि विधीबाट प्रदेश नम्बर १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५ सय ६१, वाग्मती प्रदेशमा २४ हजार २ सय १६, गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश ५ मा १६ हजार ८ सय ८, कर्णाली प्रदेशमा १० हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ जनामा जाँच गरीएको छ ।

क्वारेन्टाईनमा कति ?

देशभरका क्वारेन्टाईनमा आज ५५ हजार २ सय ८२ जना राखिएको छ ।
प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८ जना, प्रदेश २ मा १० हजार ५ सय ३५ जना, वाग्मती प्रदेशमा ९ सय ६४ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना, प्रदेश ५ मा २३ हजार ५ सय ८९ जना, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ जना सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ जना क्वारेन्टाईनमा बसिरहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा मानिसहरु बसीरहेका छन् ।

देशभरका विभिन्न अस्पतालका आईसोलेसनमा ५८२ जना उपचाररत छन् ।

स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि
स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा १५५ जना कोरोना जितेर घर फर्किए, कुन प्रदेशका कति ? 

नेपालमा हालसम्म १ सय ५५ जना कोरोना जितेर घर फर्किएका छन् ।

पछिल्लो समय वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उनीहरु ७ देखि ५३ वर्ष उमेर समुहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४१ जना पुरुष र २ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु ११ देखि १६ दिनमा उपचारपछि निको भएर घर फर्किएका हुन् ।

हालसम्म प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ का ३५ जना र सुदूरपश्चिम प्रदेशका ५ जना गरी १ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । तर हालसम्म कर्णाली प्रदेशबाट कोरोना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?