दुग्ध वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने व्यवसायीहरुको माग

काठमाडौं । डेरी उद्योगीहरुले दुग्ध जन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिदै आएको ५० प्रतिशत भ्याट छुट फेरी दिनुपर्ने बताए ।

पछिल्लो केही वर्ष यता सरकारले डेरी उद्योगहरुलाई दिदै आएको भ्याट छुट रोकेको थियो । यस्तै विद्युत महसुलमा समेत ५० प्रतिशत छुट पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् । उनले लकडाउनका कारण दुध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दुध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवस्यकता रहेको बताए ।

यस्तै लकडाउन पछि डेरी उद्योग सञ्चालन गर्न र किसानलाई भुक्तानी गर्न चालु पूँजीको अभाव हुने भएकोले सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरुको रहेको उनले बताए । यसबाहेक कर्जाको पुर्नतालिकिकरण गर्न समेत महासचिव दाहालले माग गरे । सरकारले व्यवसायी र किसान दुवै पक्षलाई राहत नदिए लकडाउनपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको समेत उनले बताए ।

देशभर दैनिक ६२ लाख दुध उत्पादन हुन्छ । जसमध्ये ३१ लख लिटर दुध बजारमा आउँछ । त्यस मध्ये पनि करिब १७ प्रतिशत मात्र औपचारिक डेरी उद्योगबाट बजारमा दुध आउने गरेको छ । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुल्ला रुपमा बजारमा आउने गर्छ ।

पछिल्लो समय लकडाउन भएपछि करिब ८० प्रतिशत दुधको बजार बन्द भएको छ । जसका कारण डेरीसँग भएको करिब ५ अर्ब रुपैयाँ बराबरको दुधको स्टक विक्री हुन सकेको छैन् । यस्तै दुध संकलन हुन नसक्दा ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?