हावाहुरीसहित देशभर वर्षा र चट्याङ, यसरी बचौँ चट्याङबाट

काठमाडौं- यतिबेला देशभरको मौसममा परिवर्तन भएको छ । चर्को हावाहुरीसहित वर्षा हुन लागेको छ । सडक छेउछाउका सुकेका रुखका हाँगाविँगा पात, होर्डिङ बोर्ड हुरीले खसालिदिएको छ भने बुट्यानहरु भाँचिएको छ । आकाश कालोनिलो भएको छ । वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

त्यसैले यो वर्षा आज राति सम्म हुनेछ । देशको पहाडी भूभागहरुमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली भइरहेको छ । मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर दिएको जानकारी अनुसार भोलि देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको मध्य तथा पूर्वी भूभागका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

यसपालि औसत वर्षा हुने

दक्षिण एसीयाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्म अर्थात् चार महिनाको अवधिलाई दक्षिण एसीयाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।  ‘सास्कोप’ले यो जानकारी दिएको छ कि यसपालि औसत वर्षा हुनेछ ।

चट्याङबाट कसरी बच्ने ? अपनाउनुहोस् यस्तो उपाय 

अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् ।

चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ ।

स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा. श्रीराम शर्माका अनुसार वि.सं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण १ सय १० जनाले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उनले बताए ।

घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उनले बताए । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन ।

घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने उनले बताए । शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ ।

उनले घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने बताए । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमीनमुनिसम्म पु-याउन उनले सुझाव दिए ।

 

यो पनि पढ्नुहोस् 

नेपालमा अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने 

हरेक १२ वर्षमा चट्याङ पर्ने संसारकै अनौठो मन्दिर  

चट्याङबाट यसरी बचौँ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?