नेपाली भूमी फिर्ता गर्न माग राख्दै डा गोबिन्द केसीद्वारा सत्याग्रहको घोषणा

काठमाडौं । डा गोबिन्द केसीले अतिक्रमित नेपाली भूमी फिर्ता गर्न माग राख्दै सत्याग्रहको घोषणा गरेका छन् ।

डा. केसीले सोमवार एक विज्ञप्ती जारी गर्दै आगामी जेठ २० गतेदेखि सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रिय मुद्धालाई सहि बहसमा ल्याइ अतिक्रमित भूमि फिर्ता प्रक्रिया शुरु गर्न सत्याग्रहको घोषणा गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

उनले भनेका छन्, ‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरूको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं,’ ।

त्यतिमात्रै नभएर सरकारले आफूसँग गरेका सबै माग पूरा हुनुपर्ने पनि बताएका छन् । यस अघि केसीले स्वास्थ्यसँग सम्बन्धित मागहरु राखि धेरै पटक अनसन गरिसकेका छन् ।

‘हामीसँग हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्ति लगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन माग गर्दछौं,’ उनले भनेका छन्।

लकडाउनले जनताको जनजिविकामा पारेको असरबारे सरकारलाई सचेत गराउँदै नेपालको भूमी हडपिसक्दासम्म थाहा नपाउने सरकारको भूमीका र औचित्यबारे सबैको ध्यानाकर्षण गराएका छन् ।

डा. केसी अहिले दार्चुलामा रहेका छन् । त्यहिँबाट नै उनले त्यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?