जुम्लामा लकडाउन उल्लङ्घन गर्ने ६७१ सवारीसाधन कारवाहीमा

काठमाडौं । जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । उनले भने, “९६ चारपाङ्ग्रे ठूला सवारी साधन र ५७५ दुईपाङ्ग्रे मोटरसाइकल गरी जम्मा ६७१ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।”

निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

दुई हजार ७०० को पिसीआर जाँच, रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई हजार ७६० को पिसीआर परीक्षण गरिएकामा सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये माथिल्लो कर्णालीका चार जिल्ला मुगु, हुम्ला, कालीकोट र जुम्लाबाट सङ्कलित स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित स्वाबको पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावलले बताए ।

कालीकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट एक हजार २७३, हुम्लाबाट ४०८ स्वाबको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पिसीआर उपकरण सञ्चालनमा नआउनुअघि जुम्लाका ३३९ को पिसीआर र २७२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

९७ सुरक्षाकर्मीको कोरोना जाँच

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले सुरक्षाकर्मी ९प्रहरी, सेना, सशस्त्र० अग्रपङ्क्तिमा परिचालन छन् । क्वारेन्टाइनको रेखदेखदेखि लकडाउनको पालना गर्नेमा सुरक्षाकर्मीलाई खटाइएको छ । कोरोना भाइरसबाट सुरक्षाकर्मी पनि जोखिममा भएकाले ९७ जनाको कोरोना जाँच गरिएको हो । नेपाली सेना ७० र प्रहरी १७ गरी ८७ जनाको पिसीआर परीक्षण गरिएको छ भने १० प्रहरीको आरडिटी गरिएको हो । कोरोना परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?