नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आवश्यकतानुसारको आइसोलेसन सेन्टर स्थापना हुन नसक्दा थप जोखिम बढ्ने देखिएको छ ।
जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शैयाको आइसोलेसन वार्ड छ ।
यसअघि पृथ्वीचन्द्र अस्पतालमा रहेको १० शैयाको आइसोलेसन वार्ड हटाइएपछि झन् समस्या देखापरेको हो ।
सो अस्पतालमा अन्य सेवा प्रवाहमा समस्या देखिने भएकाले प्रदेश सरकारको समन्वयमा आइसोलेसन वार्ड हटाइएको अस्पतालका प्रमुख डा. मोहम्मदनुरुल होदाले जानकारी दिए।
जिल्लाका विभिन्न स्थानमा आइसोलेसन व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जिल्लास्तरीय कोभिड नियन्त्रण समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले जानकारी दिए ।
प्रदेश सरकारले तराईका सबै जिल्लामा २०० शय्याको आइसोलेसन सेन्टर व्यवस्थापन गर्ने जनाए पनि जिल्लामा हालसम्म शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेसन अस्पताल रहेको छ ।
पछिल्लो पटक जिल्लामा फेला परेका पाँच कोरोना सङ्क्रमितमध्ये रामग्राम नगरपालिकामा फेला परेका दुई सङ्क्रमित तीन दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् ।
पृथ्वीचन्द्र अस्पतालमा भएको आइसोलेसन बेड हटाइएपछि प्रदेश सरकारले स्थापना गरेको आइसोलेसन सेन्टरमा बेड खाली नभएकाले दुई सङ्क्रमित हालसम्म परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका छन् ।
जिल्लामा हालसम्म एक १५ वर्षीया किशोरीसहित पाँच जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
तिनमा रामग्राम नगरपालिका –३ घोडपालिकाका ३३ वर्षीय पुरुष र वडा नं १८ पम्फापुरकी १५ वर्षीया किशोरी, सुस्ता गाउँपालिका–५का ३५ र २६ वर्षीय गरी दुई पुरुष तथा प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीका एक ३६ वर्षीय पुरुष छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया